नियम
संगठन संरचना र स्थायी पदको व्यवस्था
(१) मन्त्रालय र मन्त्रालय मातहतका
विभाग वा कार्यालयको संगठनको स्वरूप तयार गर्दा वा संगठन संरचनामा हेरफेर गर्दा
वा स्थायी पद श्रृजना वा खारेज गर्नु पर्दा मन्त्रालयले सामान्य प्रशासन मन्त्रालय र अर्थ
मन्त्रालयको परामर्श लिनु पर्नेछ र परामर्श प्राप्त भएपछि सो सम्बन्धमा निर्णयको लागि
नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
तर सहायक तहका स्थायी पदहरू श्रृजना वा खारेज गर्ने सम्बन्धमा त्यस्तो
परामर्श प्राप्त भएपछि मन्त्रालयले निर्णय गर्न सक्नेछ ।
(२) अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको परामर्श विना दरवन्दी श्रृजना
गर्न पाइने छैन ।
(३) उपनियम (१) र (२) विपरीत दरवन्दी श्रृजना गरी पूर्ति गरिएको पद स्वतः
खारेज हुनेछ ।
(४) यस नियम बमोजिम कुनै कार्यालयको संगठनको स्वरूप तयार गर्ने वा
संगठन संरचनामा हेरफेर गर्ने वा स्थायी पद श्रृजना वा खारेज गर्ने निर्णय भएपछि पन्ध्र
दिनभित्र त्यस्तो निर्णयको प्रतिलिपि मन्त्रालयले अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय
र निजामती किताबखानालाई पठाउनु पर्नेछ ।